काठमाडौँ– नेपाल गुणस्तर परिषद्ले गत आर्थिक वर्ष २०७९–८० मा विभिन्न ३५ वटा वस्तुको गुणस्तर पारित गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले ५० वस्तुको गुणस्तर पारितका लागि सिफारिस गरे पनि जम्मा ३५ वटा वस्तुको गुणस्तर पारित भएको विभागका महानिर्देशक दिनानाथ मिश्रले जानकारी दिए ।
उनले भने, ‘विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषद्बाट पारित गर्छौं ।’ परिषद्ले अघिल्लो आव २०७८–७९ मा १५ तथा आव २०७७–७८ मा ३१ वस्तुको गुणस्तर पारित गरेको थियो ।